आस्थाहरुको चौबाटोमा उभिएर
आज म
यौटा अकाट्य सत्य ओकल्दैछु
बुद्ध नेपालका होईनन् ।
म,
वास्तविकतालाई एकातिर पन्छाएर
आर्दशको ढोङ रच्ने मान्छे होइन
त्यसैले त निर्धक्क भन्दैछु
बुद्ध नेपालका होइनन् ।
"बुद्ध लुम्बिनीमा जन्मिएका थिएनन्"
-म यसो भनिरहेको छैन
र
भनिरहेको छैन- "बुद्ध अरु कसैको हो"
मात्र,
हातमा गुलेली बोकेर
म सिकारी होइन भन्ने मानबहरुको
खोटो मनलाई
कलमका निबहरुले चिरेर
सल्यक्रीया गरिरहेको छु
मानसिक अस्पतालको इमरजेन्सी कक्षमा ।
बुद्ध-अिहंशाको पुजारी
बुद्ध- धार्मिक अन्धविश्वासका विरोधी
र,
बुद्ध समानताको पक्षपाती
म यही कुरा सोधिरहेछु तिमीलाई
कि मानवता हराएको देशमा
बुद्ध कसरी रहन सक्छन् ?
धर्मको नाममा हजारौं पशुबली दिने
तिम्रा गढीमाईहरु,
जिउभरि भिगुत घसेर
सडकमा निवस्त्र पल्टिरहेका नाङ्गाबाबाहरु,
वा
मनुस्मृतिका त्याज्य पानाहरु पल्टाएर
समाज चलाउन खोज्ने
यो हिन्दु मात्रको देशमा
भन बुद्ध कसरी रहन सक्छन् ?
बुद्ध आस्था हुन्
बुद्ध विश्वास हुन्
बुद्ध श्रद्धा हुन्
र,
बुद्ध जीवन हुन्
जहाँ एउटा अकाट्य सत्य
-मृत्यु निश्चित
त्यसैले बुद्ध
न भूत हुन् न भगवान् हुन्
बुद्ध मात्र एउटा आस्था
शान्तिको, प्रेमको…
मानवताको, समानताको…
अब तिमी आफै भन
सिमापारीका तेत्तिसकोटी तिम्रा देवताहरुमा
एक्लो बुद्ध
कसरी नेपालका हुन सक्छन् ?
"बुद्ध लुम्बिनीमा जन्मिएका थिएनन्"
-म यसो भनिरहेको छैन
र,
भनिरहेको छैन- "बुद्ध अरु कसैको हो"
मात्र
रद्दीको टोकरीमा फालिएको बुद्धलाई
अरुले हाम्रो हो भन्दा कोकोहोलो मच्याउने
ढोगी मानबहरुको
खुस्किएको दिमागको सल्यक्रीया गरिरहेको छु
कलमका निबहरुले चिरेर
कविताको इमरजेन्सी कक्षमा ।
Monday, March 22, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment